Tuesday, August 7, 2012

बाबुराम सरकारप्रति भारत पनि असन्तुष्टः ओली

कांग्रेस एमालेको आन्दोलनमा भारतले सघाउने दावी


१९ साउन, काठमाडौं । एक हप्तासम्म भारतीय नेताहरुलाई भेटेर फर्किएका नेकपा एमाले नेता केपी शर्मा ओलीले बाबुराम सरकारप्रति भारत पनि असन्तुष्ट रहेको दावी गर्नु भएको छ ।
शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता ओलीले सरकारको गतिविधिले भारतीय नेताहरु ‘निराश’ र ‘लज्जित’ रहेको दावी गर्नुभयो । उहाँहरुले कूटनीतिक मर्यादाका हिसाबले पनि धेरै केही भन्नुहुन्न’ नेता ओलीले भन्नुभयो-’तर, मैले बडि ल्याङ्गोइज भन्छन् नि त्यसबाट बुझ्दा सबैले लाज मानेका छन् डा. भट्टराई र उहाँका गतिविधि देख्दा ।’
एमाले नेता ओलीले बाबुराम सरकार हटाउन कांग्रेस-एमालेसहितका दलहरुले गर्ने आन्दोलनप्रति भारतको समर्थन रहने समेत दावी गर्नुभयो । ‘शान्तिको पक्षमा, लोकतन्त्रको पक्षमा, समाजिक न्यायको पक्षमा भारतीय समर्थन पहिले पनि थियो, अहिले पनि रहन्छ’ उहाँले भन्नुभयो-’लोकतन्त्रको निम्ति जुन आन्दोलन हुन्छ, त्यसमा सबैको पनि विरोध रहँदैन ।’
नेता ओलीले सरकारले प्रतिपक्षी दलहरुसँग वार्ता गर्न टोली गठन गर्नुलाई ‘नक्कली काम’ भन्नुभयो । तानाशाहहरुले आफ्नो सत्ता टिकाई राख्न यस्तै प्रयास गर्ने भन्दै ओलीले भन्नुभयो-’त्यस्ता नक्कली छलफलहरुको कुनै अर्थ छैन, फागुनतिर पुगेपछि उहाँले फेरि छलफल गर्नुहुन्छ । दुनियाँका तानाशाहहरुको त्यही बाटो हो ।’ भारतीय नेताहरुसँगको भेटमा सरकारविरुद्ध कांग्रेस-एमालेले थालेको आन्दोलन तथा सरकारले घोषणा गरेको चुनावमा सहभागी नहुने जानकारी गराएको उहाँले बताउनुभयो।
स्वास्थ्य उपचारका लागि भन्दै दिल्ली गएका नेता ओलीले राष्ट्रपति प्रणब मुखर्जीका साथै अधिकांश बिपक्षी गठवन्धनका नेताहरुलाई भेट्नुभएको थियो ।
स्रोतका अनुसार भेटमा ओलीले भारतको संस्थापन पक्षले माओवादी र मधेसवादी जस्ता अतिबादी दललाई काखी च्यापेर गलत गरेको भन्दै नीति सच्चाउन अनुरोध गर्नुभएको थियो । कांग्रेस एमाले लगायतका पुराना दललाई बेवास्ता गरि अगाडी बढ्दा समस्या समाधान नहुने भन्दै बाबुराम सरकारलाई हटाएर नयाँ राजनीतिक प्रकृया थाल्न ओलीले भारतीय नेताहरुलाई आग्रह गरेको बताइएको छ ।

No comments:

Post a Comment