Friday, August 3, 2012

बाढीले रौतहटमा १८ घर डुबायो


रौतहट, साउन १९ – स्थानीय लालबकैया खोलाको बाढी गाउँ पसेपछि रौतहटको कटहरिया गाविस हर्साहा टोलको १८ घर डुबानमा परेको छ । घरभित्र समेत तीन फिटसम्म पानी जमेको स्थानीयबासिन्दाले बताएका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार खोलाको बाढीले अजिज मियाँ, ऐनुल अन्सारी, इम्ताजुल अन्सारी, अतिउल देवान, नागेन्द्र यादव, विमल दास,विभू दास, अयूब अन्सारी, लक्ष्मी यादव, काशीम महम्मद,मोलाजिम राय, बन्नु मियाँ, मोबारक मियाँ, नागेश्व साह, रामकिशुन चौरसिया,शिवलाल दास, अनुठा यादवसहित १८ जनाको घर डुबानमा परेको छ ।
उनीहरुले प्राथमिक विद्यालय कटहरियामा संरक्षण लिइरहेका छन् । रातभरी पहाडी क्षेत्रमा भएको वर्षात्का कारण लालबकैया खोलामा आएको बाढी शुक्रवार बिहान तीन बजेदेखि बस्तीमा पसेको हो । बाढीका कारण सयौं बिघामा लगाइएको उखु खेती पनि डुबानमा परेको छ ।
खाद्यान्न सामाग्री घरमै छोडेर चौपाया र लत्ताकपडा लिएर छिमेकको टछोलमा आश्रय लिनुपर्ने बाध्यता रहेको स्थानीय देवेन्द्र यादवले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक चक्रबहादुर सिंहका अनुसार उद्दारका लागि स्थानीय प्रहरी चोकीको टोली घटनास्थलमा खटाइएको छ ।

No comments:

Post a Comment