Tuesday, August 21, 2012

ब्राजिलमा अलपत्र नेपालीको खोजी सुरु


'अलपत्र परेकाहरू कोही पनि दूतावासको सम्पर्कमा आएका छैन', सुरेन्द्र पौडेल, काठमाडौं, भदौ ५ - ब्राजिलस्थित नेपाली दूतावासले ल्याटिन अमेरिकी मुलुकमा अलपत्र परेका नेपालीको खोजी सुरु गरेको छ। उनीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्ने बुझ्न सुरु गरेको ब्राजिलका लागि नेपाली राजदूत प्रद्युम्नविक्रम शाहले बताए।
'अलपत्र परेकाको खोजी भइरहेको छ,' राजदूत शाहले नागरिकसँग टेलिफोनमा भने, 'उनीहरू दूतावासको सम्पर्कमा आउन चाहेका छैनन्।' ब्राजिलमा अलपत्र पर्नेमध्ये एकजनाले मात्र भए पनि दूतावास आएर निवेदन दिए उद्धार गर्न सहज हुने उनले बताए। हालसम्म कोही पनि दूतावास नआएको र दूतावासले सम्पर्क गर्न खोज्दा पनि उनीहरूले बेवास्ता गर्ने गरेको उनको भनाइ छ।
राजदूत शाहका अनुसार अलपत्र परेकामध्ये सातजनाको टेलिफोन नम्बर पत्ता लगाई सम्पर्क गर्न खोज्दा उनीहरूले फोन नै काटिदिने गरेका छन्। अलपत्र पर्नेहरू विभिन्न ठाउँमा छरिएर रहेकाले उनीहरूसम्म पुग्न अप्ठेरो परेको उनले जनाए।
'उनीहरूलाई कसले के भनेको छ कुन्नि, हामीले फोन गर्दा फोनै काटिदिन्छन्,' राजदूत शाहले भने, 'अझै अमेरिका जान पाइन्छ कि भन्ने आस भएर हो कि, ठूलो रकम फसाएर घर फर्किदा घर-परिवारले केही भन्लान् भन्ने डरले हो, उनीहरू आफ्नो वास्तविक परिचय दिन पनि मान्दैनन्।'
दूतावासले खोजी गर्दा अलपत्र परेकाहरुमध्ये केही वृद्धाश्रम र केही चर्चमा बसेको पाइएको शाहले बताए। उनीहरूले त्यहाँ आफूलाई भुटानी शरणार्थी भनेर चिनाउने गरेका छन्। भुटानी शरणार्थीले ब्राजिलमा परिचय पाइसकेकाले बसाइ सहज हुन्छ भनेर उनीहरूले आफूलाई भुटानी बताउने गरेको शाहको बुझाइ छ।
'विभिन्न माध्यमबाट खोजी गर्दा केही चर्चमा भेटिएका छन्। उनीहरूले आफ्नो वास्तविक परिचय लुकाई भुटानी शरणार्थी बनेर बसेको पाएका छौं,' राजदूत शाहले भने, 'उनीहरूले आफूलाई भुटानी शरणार्थी हौ भनेपछि तिमीहरू नेपाली हौ भनेर उद्धार गर्न मिल्दैन।'
अलपत्र परेकालाई अप्ठेरो परे दूतावासमा आएर निवेदन दिन आग्रह गरिएको उनले बताए। कसैले आधिकारिक निवेदन नदिएसम्म उद्धार गर्न नमिल्ने शाहको भनाइ छ। एजेन्टहरूले अझै अमेरिका पुर्याथइदिने आश्वासन दिएकाले उनीहरूले आफ्नो परिचय लुकाएको हुनसक्ने उनको भनाइ छ। 'कोही फर्कनै चाहँदैनन्,' राजदूत शाहले जानकारी दिए, 'परिचय लुकाए पनि साह्रै अप्ठेरो परेका केहीलाई व्यक्तिगत तवरमा रकम उठाएर दिएका छौं।'
बोलिभियामा नेपालीलाई अन अराइएभल भिसा दिने भएकाले एजेन्टहरूले नेपालीलाई ब्राजिलबाट बोलिभिया छिराउने गरेको बुझाइ शाहको छ। बोलेभियामा अलपत्र परेकाको पनि औपचारिक/अनौपचारिक च्यानलबाट वास्तविकता बुझ्ने काम भइरहेको उनले जनाए। कोस्टारिकामा पक्राउ परेका सातजना नेपालीका बारेमा पनि दूतावासले बुझिरहेको उनले बताए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव तस्करको प्रलोभनमा परी अमेरिका जान हिँडेका एक हजारभन्दा बढी नेपाली ल्याटिन अमेरिकाका विभिन्न देशमा अलपत्र परेका छन्। मोटो रकम लिई अमेरिका छिराइदिने भन्दै उनीहरूलाई तस्करले ब्राजिल, चिली, बोलिभिया, इक्वेडर, कोस्टारिका लगायत ल्याटिन अमेरिकी मुलुकमा अलपत्र पारेका हुन्। तस्करहरूले ब्राजिलबाट विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका प्रवेश गराउने भनी प्रति व्यक्ति २२ लाख रुपैयाँसम्म लिने गरेको अलपत्र परेकाहरूले बताउँदै आएका छन्।
By: nagariknews

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन (रत्ननगर), भदौ ५ - चितवनको भण्डारास्थित पूर्वपश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
नारायणगढबाट हेटौँडातर्फ गइरहेको ना२च ३५०७ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको बा४४प ६७४० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर- ८ निपानीचोक निवासी ३५ वर्षीय रामचन्द्र पौडेलको मृत्यु भएको हो।
जिप चालक फरार रहेकाले निजको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। जिप भने प्रहरीले नियन्त्रणमा लिइएको छ। रासस

By: nagariknews

फेसबुकमा एमालेको आलोचना गर्ने डिएसपीको सरुवा


काठमाडौं, भदौ ५ (नागरिक)- सरकारविरुद्ध आन्दोलनका क्रममा युवा संघ कार्यकर्ताले प्रहरीमाथि गरेको ज्यादतीको सोसल मिडियाबाट कडा टिप्पणी गर्ने डिएसपी दीपशमसेर राणालाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ। 
दुई साताअघि संघका अध्यक्ष महेश बस्नेतले महानगरीय प्रहरी मुख्य घटना सहायता कार्यदलका एक सिपाहीमाथि जलिरहेको मसालले आक्रमण गरेको घटनाको राणाले फेसबुकबाट टिप्पणी गरेका थिए। उनले फेसबुकमा उक्त कामको आलोचना गर्दै बस्नेतलाई संरक्षण दिएको भन्दै उनको माउ पार्टी एमालेको समेत आलोचना गरेका थिए।
स्रोतका अनुसार राणाको फेसबुक स्टाटसलगत्तै एमालेका उच्च नेताले प्रहरीका माथिल्ला अधिकारीलाई राणा सरुवा गर्न दबाब दिएका थिए। बस्नेतले प्रहरीमाथि गरेको दुर्व्यवहारप्रति प्रहरीका उच्च अधिकृतसमेत असन्तुष्ट भए पनि एमाले नेताहरूको निरन्तर दबाबपछि प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले राणालाई कार्यदलबाट प्रधान कार्यालयको ट्राफिक निर्देशनालयमा सरुवा गरेका छन्। राणाको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी भूपेन्द्र खत्रीलाई ल्याइएको छ।
महानगरीय प्रहरी वृत्त, महाराजगन्जका डिएसपी जगदीश पोखरेललाई आइतबार काजसरुवा गरी ब्युरोमा ल्याइएको छ। ब्युरोका डिएसपी ओम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय, दोलखा र डिएसपी जीवन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, महाराजगन्ज लगिएको छ। दोलखाका डिएसपी उमेशराज जोशीलाई ब्युरोमा ल्याइएको छ। नियमित सरुवाको सट्टा काज सरुवा गरिनुलाई प्रहरी अधिकृतले अर्थपूर्ण रूपमा हेरेका छन्।

By: nagariknews