Tuesday, August 21, 2012

झापालीले खाए ५० करोडको मासू १ वर्षमा


४ भदौ, झापा । झापा जिल्लावासीले एक वर्षमा पचास करोडभन्दा बढी मूल्यको मासु मात्रै खाएको देखिएको छ । 
जिल्लाका पशु बधशाला र विभिन्न जातका पशुका मासु बिक्री गर्ने पसलको तथ्याङ्कका आधारमा गत आवमा ५० करोड ५४ लाख ६६ हजारबराबरको मासु झापालीले खाएका हुन् । जिल्लामा सञ्चालित विभिन्न होटलका साथै कतिपय मासाहारी व्यक्तिले आफ्नो घरमा पकाएर खाने उद्देश्यले मासु खरिद गर्ने गरिएको छ ।    
झापाली उपभोक्ताहरुले सबैभन्दा बढी खशी खाने गरेको देखिन्छ । त्यसपछि क्रमश कुखुरा, सुगुर, बङ्गुर र राँगाको मासु खाएको देखिन्छ । बिक्रीका आधारमा राखिएको तथ्याङ्कबाट त्यस्तो यर्थाथ सार्वजनिक भएको हो । जिल्ला पशुसेवा कार्यालयबाट प्राप्त जानकारीअनुसार गत आवमा जिल्लामा रहेका राँगाको मासु बिक्री गर्ने ३६ वटा पसलबाट करिब रु छ करोड ७० लाख मूल्यबराबरको करिब दुई लाख ९० हजार किलो मासु बिक्री भएको थियो । 
त्यसैगरी ८४ वटा खसीको मासु बिक्री गर्ने पसलबाट करिब रु नौ करोड ९८ लाखबराबरको करिब तीन लाख ४१ हजार किलो मासु बिक्री भएको थियो ।   झापामा बङ्गुरको मासु बिक्री गर्ने ५१ वटा पसलबाट करिब १८ करोड ७४ लाख मूल्यबराबरको करिब आठ लाख ५८ हजार किलो बङ्गुरको मासु बिक्री भएको छ भने जिल्लाका १११ वटा कुखुरा पसलबाट करिब रु छ करोड ७५ लाखबराबरको करिब तीन लाख ८८ हजार किलो मासु बिक्री भएको थियो ।
यसका साथै जिल्लामा रहेका पशु बधशालाको विवरण अनुसार खसी मासु पसल गौरादहमा गत आवमा रु ५२ लाख ११ हजार बराबरको मासु बिक्री भएको थियो भने कृषि उपज बजार सञ्चालक समिति बिर्तामोडको बधशालाबाट रु करिब छ करोड १८ लाखबराबरको मासु बिक्री भएको थियो । त्यसैगरी पशु बधशाला अर्जुनधाराबाट करिब रु ४९ लाख २८ हजारको कारोबार भएको थियो भने मासु पसल शनिश्चरेबाट करिब रु एक करोड १८ लाखबराबरको बिक्री भएको थियो ।
मासुको खपत अत्यधिक भएपछि मासुजन्य वस्तुको उत्पादनमा किसानले पनि जोड दिएका छन् । झापा जिल्लामा चार वर्षको तथ्याङ्क दृष्टिगत गर्दा मासुजन्य वस्तुको उत्पादनमा वृद्धि भएको छ । झापा आव ०६४/०६५ मा बाख्रा, खसी र बोकाको सङ्ख्या करिब २ लाख ३० हजार थियो भने क्रमिक रूपमा बढ्दै आव ०६८/०६९ सम्म करिब दुई लाख ४७ हजार वटा पुगेको छ । त्यसैगरी आव ०६४/०६५मा सुगुर र बङ्गुरको सङ्ख्या ४९ हजार ९४० वटा थियो भने क्रमिक रूपमा बढ्दै आव ०६८/०६९मा ६२ हजार ९१२मा पुगेको छ । सोहीअनुरूप आव ०६४/०६५मा कुखुराको सङ्ख्या करिब पाँच लाख ७६ हजार वटा थियो भने आव ०६८/०६९मा करिब सात लाख ७८ हजार वटामा पुगेको छ । हाँसको सङ्ख्या आव ०६४/०६५मा करिब सात हजार १८४ थियो भने आव ०६८/०६९मा ३० हजार पाँच पुगेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । रासस


By:nepaliheadlines

No comments:

Post a Comment